तीन वटा संसदीय समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८१ बैशाख २०, बिहीबार ०९:४५
file-photo

काठमाडौं । आज एकैदिन तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागिएको हो ।

जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल जनाइएको छ ।

त्यस्तै, बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ । सो बैठकमा शान्ति प्रक्रिया, सङ्क्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका कामकारवाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, बिहान ११ बजे पूर्वाधार विकास समितिको बैठक बस्ने भएको छ । बैठकमा राष्ट्रिय राजमार्ग र राष्ट्रिय गौरवका आयोजनाहरू र बुटवल–नारायणगढ सडक, नागढुङ्गा–मुग्लिन सडक, मुग्लिन–पोखरा सडकको बारेमा छलफल हुनेछ ।