हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौं । हत्या गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट गएराति दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले स्याङजा र इलाम जिल्लाको विभिन्न स्थानबाट हत्याको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले स्याङजाको वालिङ नगरपालिका–१३ बायाँटारी डेरा गरी बस्ने दाङ घर भएका २० वर्षीय आयुस चौधरीको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका–३ घर भइ वालिङ नगरपालिका–१३ बायाँटारी बस्ने ३५ वर्षीय निम बहादुर घर्ती मगर रहेका छन् ।
उनलाई प्रहरी चौकी थुमपोखरा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो । मगरले धारिलो हतियार चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चौधरीको प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै, इलामबाट आफ्नै सौतेनी आमा ३१ वर्षीया नेत्र माया खवासको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको माई नगरपालिका–२ दिपु डाँडा बस्ने २१ वर्षीय सन्देश दियाली रहेका छन् ।
सन्देशले मादक पदार्थ सेवन गरेर घरायसी विवादमा बाम्पफोक प्रहार गर्दा नेत्र मायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
