अवैध लागूऔषधसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख १७, सोमबार ०९:२१
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले नवलपरासी पश्चिम र धादिङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–७ उजैनीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४६ एम्पुल, फेनारगन ४८ एम्पुल र नुफिन ४९ एम्पुलसहित आइतबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामग्राम नगरपालिका–७ उजैनी बस्ने ५३ वर्षीय निर्मल नेटुवा रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले युपी ५६ ई २८७६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक नेटुवालाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, प्रहरीले धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलोसहित २ जनालाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा थाक्रे गाउँपालिका–३ बस्ने २४ वर्षीय विनोद तामाङ र २० वर्षीय रेशम तामाङ रहेका छन् । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख १४१० नम्बरको हाइसलाई जाँच गर्ने क्रममा हाइसमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।