अवैध लागूऔषधसहित १० जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सा, रौतहट, झापा, धनुषा, कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले पर्साको कालिकामाई गाउँपालिका–१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद कुर्मीलाई पक्राउ गरेको छ । कुर्मीलाई आफ्नै घरबाट लागूऔषध चरेश १७ किलोसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस्तै, रौतहटको कटहरिया नगरपालिका–२ छेदिचोकबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा निजगढ नगरपालिका–९ बजार टोल बस्ने अटो चालक ४२ वर्षीय अनन्त बराइली र उनकै श्रीमती ३५ वर्षीय मन्जु बराइली रहेका छन् । अस्थायी प्रहरी पोष्ट छेदिचोकबाट खटिएको प्रहरीले प्र.२–०३–००१ ह ३१५ नम्बरको अटो जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यसैगरी, झापाको झापा गाउँपालिका–५ पन्थपाडास्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर १६ ग्राम र नगद ११ हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् । झापाको बाह्रदर्शी गाउँपालिका–४ चकचकी बस्ने ३२ वर्षीय जफिर आलमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ५६४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक जफिरलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, धनुषाको औरही गाउँपालिका–५ स्थित औरही चोकबाट अवैध लागूऔषध खैरो हेरोइन १३ ग्राम र नगद ३८ हजार २ सय २० रूपैयाँसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा सिरहा नगरपालिका–१५ बस्ने ३६ वर्षीय श्याम सुन्दर यादव र भारत घर भएका ३२ वर्षीय सुधिर कुमार ठाकुर रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीले विआर ३२ एएफ ९३४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध र नगदसहित पक्राउ गरेको हो ।
यसैगरी, धनुषाको जनकपुर उपमहानगरपालिका–४ मुरली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ६ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१ बस्ने २२ वर्षीय अर्जुन बैठा र २१ वर्षीय ईन्द्रजीत भण्डारी रहेका छन् । प्रहरी चौकी हनुमाननगर र लागूऔषध नियन्त्रण व्यूरो जनकपुरबाट खटिएको प्रहरीले ज.१० प १२८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका–६ बैशाखाबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ६५ मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने १९ वर्षीया दिक्षा लामिछाने र सोही उपमहानगरपालिका–२ मिलनचोक बस्ने १८ वर्षीया किशोरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
