अवैध सुन कारोवारमा संलग्न सात जना पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख १४, शुक्रबार १७:२७

काठमाडौं । अवैध सुनको कारोवारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–२४ स्थितबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दार्चुला महाकाली नगरपालिका–३ टाटे बस्ने ४७ वर्षीय गणेश दत्त बडु, २१ वर्षीय आयुष बडु, झापा बिर्तामोड नगरपालिका–३ बस्ने ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरत राज खरेल, भारत महाराष्ट्र सांगली आटपाही थाना बस्ने ३७ वर्षीय अमोल विभुते र सोही ठाउँ बस्ने १८ वर्षीय २ जना किशोर रहेका छन् ।

अवैध सुनको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पहेलो धातु १७६८ दशमलव २९ ग्राम र नगद १ करोड ४३ लाख ६० हजार रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई राजस्व छली समेतको कसूरमा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।