वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी ईनरुवा नगरपालिका–३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका–५, घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् ।
पक्राउ परेकामध्ये सत्यन्द्रले क्यानडा पठाइदिन्छु भन्दै पीडितहरूबाट ३८ लाख २० हजार रूपैयाँ ठगी गरेको र विवेकले माल्टा पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सत्येन्द्रलाई काठमाडौं अनामनगर र विवेकलाई काठमाडौं बागबजारबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाएको जनाइएको छ ।
