माओवादी केन्द्र पुनरोदयको सन्निकटः जिल्ला इन्चार्ज गौतम

तु खबर संवाददाता
२०८१ बैशाख ५, बुधबार १६:४९

हेटौंडा । नेकपा माओवादी केन्द्र, मकवानपुर जिल्ला इन्चार्ज एवम् पार्टी केन्द्रीय सदस्य विजय गौतमले माओवादी पार्टी पुनरोदयको सन्निकट रहेको दाबी गरेका छन् ।

नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नंं १ को दोश्रो वडा अधिवेशनलाई बुधबार सम्बोधन गर्दै नेता गौतमले यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘व्यवस्था बदलेर आएको माओवादी ०६४ मा सबैभन्दा ठूलो शक्तिको रुपमा जनअनुमोदित भएको थियो । यतिबेला सुशासन र सामाजिक न्याय सहितको सम्बृद्धिको एकसूत्रीय भाष्य निर्माण गरिरहेकोले यसैले माओवादीको पुनरोदय गराउने छ ।’

यस्तै, हेटौंडा उपमहानगर इन्चार्ज एवम् पार्टी केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले प्राप्त उपलब्धीप्रति गौरवबोध गराउँदै प्रतिक्रियावादीले गरेका दुष्प्रचार खारेज गर्न नसक्दा माओवादी रक्षात्मक बनेको जिकिर गर्दै पार्टीपंक्ति यसप्रति सचेत हुनुपर्ने बताए ।

अधिवेशनले रेवती दाहालको अध्यक्षतामा ऐक्का थिङ उपाध्यक्ष, गजेन्द्र नारायण यादव सचिव, रेजिना शिकारी सह–सचिव, मनिषा लामा कोषाध्यक्ष रहेको १७ सदस्यीय वडा समिति निर्वाचित गरेको छ ।

वडा पार्टी अध्यक्ष स्वस्थि राजथलाको अध्यक्षतामा भएको अधिवेशनमा माओवादी केन्द्रका बागमति प्रदेश सचिवालय सदस्य शुभरत्न गोले, प्रदेश सदस्य विवेक राई, जिल्ला सदस्य मानबहादुर लामा, उपमहानगर अध्यक्ष तिर्थबहादुर थापा मगर, उपाध्यक्ष गुणराज घिमिरे, अधिवक्ता केशव गौतम, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीय सदस्य गौतम केसी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।