डढेलो निभाउँदा घाइते भएका सैनिकको मृत्यु
काठमाडौं । डोल्पास्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिपाही हेमन्त रावल रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए ।
उनका अनुसार, डढेलो निभाउने क्रममा जमदार केशरबहादुर जागा मगर र सिपाही रावल गम्भीर घाइते भएका थिए । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको भएपनि रावलको मृत्यु भएको हो ।
यसअघि आगलागीमा परेका देवीदक्त गण ‘क’ का प्यूठ विजय कोइराला र सिपाही आशिष बुढालाई सैनिक हेलिकप्टरमार्फत उद्दार गरेर नेपालगञ्ज पठाइएको थियो ।
डोल्पाको सामुदायिक वनमा केही दिनदेखि डढेलो लागिरहेको थियो । त्यसको नियन्त्रणका लागि नेपाली सेनाका दुई वटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली खटिएको थियो ।
