छुरा प्रहार गरी पुरुषको हत्या, दुई जना पक्राउ
वीरगंज । धनुषाको जनकपुरमा छुरा प्रहार गरी एक जनाको हत्या गरिएको छ । आज दिउँसो जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ स्थित विश्वकर्मा चोकमा छुरा प्रहार गरी एक पुरुषको हत्या गरेको जनकपुर प्रहरीले जनाएको छ ।
हत्या हुनेमा प्रीन्सकुमार महासेठ रहेका छन् । महोत्तरी जिल्ला डाडा गाउँपालिका निवासी महासेठको छातीको बाँया भागमा छुरा प्रहार भएको थियो ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका महासेठको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त घटनामा संलग्न रहेका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका दुबै जनाको नाम भने खुलाएको छैन ।
प्रहरीले पक्राउ परेकाहरुको साथबाट हत्यामा प्रयोग गरिएका केही सामग्रीसमेत बरामद गरेको र घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
