अवैध लागूऔषधसहित ८ जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, सुर्खेत, कास्की र पाँचथर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम २३ मिलिग्रामसहित बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी धरान उपमहानगरपालिका–१६ बस्ने २३ वर्षीय युवराज श्रेष्ठलाई पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०४९ प ७००६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, मोरङकै विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ५३ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका–८ बस्ने २९ वर्षीय इनर सरदार र झापा मेची नगरपालिका–१२ बस्ने ३३ वर्षीय सुबास राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०१–००२ प ७०१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–६ बस्ने ३८ वर्षीय बिकास गौतमलाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ७ सय २० मिलिग्रामसहित बिहीबार दिउँसो पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यता, कास्कीको अन्नपुर्ण गाउँपालिका–९ मौजाबाट अवैध लागूऔषध गाँजा ४ किलोसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१८ रेशमखेती बस्ने ३९ वर्षीय हेमन्त भट्टराई र तनहुँ भिमाद नगरपालिका–३ माझकोट बस्ने २५ वर्षीय बिनोद थापा रहेका छन् । प्रहरी चौकी बिरेठाटीबाट खटिएको प्रहरीले ग.१४ प २४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
त्यस्तै, पाँचथरको फिदिम नगरपालिका–४ गढीबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ३ सय ३० मिलिग्राम र नगद ४० हजार ६ सय ५० रूपैयाँसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका–४ वलफर टोल घर भएका २५ वर्षीय डेविट लिम्बु र सोही नगरपालिका–२ नयाँ बसपार्क बस्ने १९ वर्षीय कोमस लावती लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
