अवैध लागूऔषधसहित १० जना पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र २२, बिहीबार १५:५५
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेत, सुनसरी, कञ्चनपुर, कपिलवस्तु, झापा र बाँकेको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका–५ बबईस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ६ सय १० मिलिग्रामसहित बुधबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ बस्ने २२ वर्षीय मदन वादी रहेका छन् । उनीहरुलाई अस्थायी प्रहरी पोष्ट बबई र प्रदेश प्रहरी व्युरोबाट खटिएको प्रहरीले भे. १ ख ४११४ नम्बरको गाडीलाई जाँच गर्दा सो परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

यस्तै, सुनसरीको हरिनगर गाउँपालिका–५ बाट अवैध लागूऔषध गाँजा करिब १६ किलोसहित प्रहरीले बुधबार दिउँसो तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही गाउँपालिका–६ बस्ने २२ वर्षीय हफरोज मिया समेत ३ जनालाई पक्राउ गरेको जनाएको छ । उक्त स्थानमा खटिएको प्रहरीले को.२ ह ६३६७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यता, कञ्चनपुरको भिमदत्त नगरपालिका–४ बसपार्कस्थित सुदुर पश्चिम गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन ३४ ग्राम १ मिलिग्राम र नगद ८ हजार भारतीय रूपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही नगरपालिका–१५ बस्ने ३० वर्षीय भुवन साहुलाई बुधबार साँझ पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै, प्रहरीले कपिलवस्तु, बाणगंगा नगरपालिका–२ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय ९० मिलिग्रामसहित बुधबार राति एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही ठाउँ बस्ने ३४ वर्षीय देवकुमार थापालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी, झापाको मेचिनगर नगरपालिका–६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ८ सय मिलिग्रामसहित बुधबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ उर्लाबारी नगरपालिका–२ सुनझोडा बस्ने २० वर्षीय पवन भट्टराईलाई पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका–४ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ४ मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका–५ बस्ने २२ वर्षीय जीवन चौधरी र धनगढी उपमहानगरपालिका–१३ बस्ने २५ वर्षीय सचिन राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले से.४ प ६०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उता, बाँकेको खजुरा गाउँपालिका–२ सत्ताईसधुरी बस्ने २३ वर्षीय राकेश परियारलाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।