आठ महिनामा १८१७ जुवाडे पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र २१, बुधबार १०:२५

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको पछिल्लो ८ महिनाको अवधिमा १८ सयभन्दा बढी जुवाडे पक्राउ गरेको छ । प्रहरीले गत साउनदेखि फागुन महिनासम्ममा १ हजार ८१७ जना जुवाडे पक्राउ गरेको जनाएको छ ।

तीममध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकाबाट पक्राउ परेका छन् । त्यहाँबाट ७७९ जना जुवाडे पक्राउ परेको नेपाल प्रहरीका केन्द्रीयले जनाएको छ ।

यसैगरी, कोशी प्रदेशबाट ११५ जना, बागमती प्रदेशबाट ११३ जना, गण्डकी प्रदेशबाट २९९ जना, लुम्बिनी प्रदेशबाट ९४ जना, कर्णाली प्रदेशबाट १०४ जना र सुदूरपश्चिम प्रदेशबाट ३१३ जना जुवाडे पक्राउ परेका हुन् ।

सो अवधिमा उनीहरूको साथबाट २ करोड ६३ लाख ४५ हजार ४१७ रूपैयाँ बरामद भएको छ । जसमध्ये काठमाडौं उपत्यकाबाट १ करोड ४१ लाख ४ हजार ३५९ रूपैयाँ, कोशी प्रदेशबाट १७ लाख ८८ हजार ६२५ रूपैयाँ, बागमती प्रदेशबाट २३ लाख ७३ हजार १९४ रूपैयाँ, गण्डकी प्रदेशबाट ३७ लाख ३४ हजार ७५९ रूपैयाँ, लुम्बिनी प्रदेशबाट ७ लाख ३७ हजार ४७२ रूपैयाँ, कर्णाली प्रदेशबाट ९ लाख ६४ हजार ७२१ रूपैयाँ र सुदूरपश्चिम प्रदेशबाट २६ लाख ४२ हजार २८७ रूपैयाँ बरामद भएको हो ।

उक्त अवधिमा जुवातास खेल्नेहरूबाट ५५४ बुक तास, २५० थान कौडा लगायतका सामान बरामद भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाले बताए ।

उनका अनुसार, जुवातास खेल्ने व्यक्तिहरू सुराकी र विशेष सूचनाको आधारमा पक्राउ पर्ने गरेका छन् ।