अवैध लागूऔषधसहित १० जना पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र २०, मंगलवार १५:३९
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया, झापा, बाँके र दार्चुला जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध चरेस ५ किलो ९ सय २९ ग्रामसहित सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका–११ बस्ने ५२ वर्षीया आशा राई रहेका छन् । प्रहरी चौकी जमुनी र सशस्त्र प्रहरी बल बिओपी फुटाहाबाट खटिएको संयुक्त टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेकी उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, झापाको मेचिनगर नगरपालिका–१० धुलावारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ५ ग्राम ७ सय ६० मिलिग्रामसहित बिर्तामोड नगरपालिका–१ बस्ने २१ वर्षीय गंगा प्रसाद मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापाकै मेचिनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन ७ सय मिलिग्राम र नगद १ लाख ३९ हजार रूपैयाँसहित सोमबार दिउँसो प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका–७ बस्ने २४ वर्षीया कन्चन परियार रहेका छन् ।

यसैगरी झापाको बिर्तामोड नगरपालिका–३ अदुवाखोला पुल छेउबाट अवैध लागूऔषध ब्राउनसुगर ८० मिलिग्राम र नगद १२ हजार ५ सय रूपैयाँसहित सोही ठाउँ बस्ने २४ वर्षीय अशोक साह समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन ७ ग्राम ३ सय मिलिग्राम र तराजुसहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बहराईच बस्ने ३९ वर्षीय अजय कुमार बिक्षित, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ बस्ने २८ वर्षीय रिसव कौशल ठथेर र बाँके कोहलपुर नगरपालिका–१४ बस्ने १९ वर्षीय दिनेश बिक रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ४० एएन १२६१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, दार्चुलाको महाकाली नगरपालिका–१ श्रीबगरबाट अवैध लागूऔषध चरेस २ किलो ७ सय ग्रामसहित कञ्चनपुर कृष्णपुर नगरपालिका–३ बस्ने २७ वर्षीय हर्कलाल रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले सु.प.प्र.०२–००१ त १३१० नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा ट्रलीमा कोदोको बोराभित्र राखेको उक्त पदार्थसहित चालक रानालाई पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा उक्त सामान पठाउने ब्याँस गाउँपालिका–४ सुनसेरा बस्ने ५५ वर्षीय जयलाल कुँवरलाई समेत प्रहरीले उनकै घर ठेगानाबाट पक्राउ गरेको छ ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।