जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले तनहुँ र दाङ जिल्लाको विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले तनहुँबाट १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्रबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्यास नगरपालिका–१०, डिगाउँ बस्ने लमजुङ मध्यनेपाल नगरपालिका–१ जितबेसी घर भएका ३० वर्षीय रघु बिक रहेका छन् ।
बिकले ती किशोरीलाई ब्यास नगरपालिका–४ स्थित होटलमा लगि सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै, दाङको घोराही उपमहानगरपालिका–१६ बस्ने ५२ वर्षीय गोपाल बिकलाई पनि प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ । ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले घोराही उपमहानगरपालिका–१६ लमडरूवाबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, ती महिलालाई मंगलबार जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीको आधारमा बिकलाई पक्राउ गरिएको हो ।
ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
