धर्म परिवर्तन डरलाग्दो समस्या भयोः कमल थापा

तु खबर संवाददाता
२०८० चैत्र १६, शुक्रबार १६:०२

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्याको रुपमा देखिएको बताएका छन् ।

प्रशिक्षणको क्रममा विभिन्न जिल्लाहरुको भ्रमणमा आज गृह जिल्ला हेटौंडा आइपुगेका उनले पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

साथै उनले यसले सामाजिक सद्भाव र एकता भड्काउने काम गरेकोमा चिन्ता प्रकट गरे । अमेरिकी संसदमा समेत नेपालको बारेमा प्रश्न उठेको भन्दै अध्यक्ष थापाले नास्तिकता बढाउन भएको आर्थिक लगानी बारे सरकारले तत्काल छानबिन गरेर कार्बाही गर्नुपर्नेमा जोड दिए ।

संघीय धर्म निरपेक्ष गणतन्त्र असफल साबित भएको भन्दै उनले अहिलेको व्यवस्था र प्रणाली भ्रष्टतन्त्रमा रुपान्तरण भएको चर्चा गरे ।

राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको मार्गचित्रले मात्र मुलुक स्थिर र प्रगतितर्फ जाने उनको भनाई छ ।

संघीयताको अनावश्यक भारी देशले थाम्न नसक्ने भन्दै संघीयता खारेज गर्नुपर्ने उनको भनाई छ ।

कार्यनीतिका कारण राप्रपासंगको एकता क्षिण बन्दै गएको भन्दै उनले राप्रपा सत्ता केन्द्रित मानसिकताबाट ग्रस्त भएको टिप्पणी गरे ।

अहिले देशको व्यवस्था र अवस्था परिबर्तन गर्न आन्दोलन आवश्यक भएको स्पष्ट पार्दै अध्यक्ष थापाले सबै राष्ट्रबादी शक्तिबीच बृहत मोर्चा बन्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौला लगायतको सहभागिता रहेको थियो ।