अवैध लागूऔषधसहित चार जना पक्राउ
झापा । झापाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले बिहीबार चार जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले कन्काई नगरपालिका–४ बस्ने २३ वर्षीय सलिम आलम समेत २ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरीले कन्काई नगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर ९ सय ७० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको हो ।
यसैगरी, सोही कार्यालयबाट खटिएको प्रहरीले शिवसताक्षी नगरपालिका–१० बस्ने २८ वर्षीय अजय बस्नेतलाई लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरीले कन्काई नगरपालिका–५ बाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम १ सय ८० मिलिग्रामसहित बिहीबार बेलुकी बस्नेतलाई पक्राउ गरेको हो ।
यस्तै, लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित एक जनालाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका भारत ठाकुरगंज बस्ने ३२ वर्षीय मोहम्मद मुन्नालाई मेचिनगर नगरपालिका–६ मेची पुलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
