वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र १४, बुधबार १५:४४
सांकेतिक तस्बिर

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट ३ जनालाई मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं शंखरापुर नगरपालिका–५ पालबारी बस्ने ३८ वर्षीय सुवास आचार्य, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–४ घर भई हाल काठमाडौं बुढनिलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने २७ वर्षीय महेन्द्र अधिकारी र म्याग्दी बेनी नगरपालिका–४ घर भई काठमाडौं टोखा नगरपालिका–११ जाल्पाचोक बस्ने ३९ वर्षीय राममाया गुरूङ रहेका छन् ।

पक्राउमध्ये सुवासले युकेमा वोर्किङ भिषामा पठाईदिन्छु भन्दै नक्कली अफर लेटर देखाई पीडितबाट १६ लाख ८० हजार रूपैयाँ ठगी गरेको र महेन्द्रले अष्ट्रेलिया पठाईदिन्छु भन्दै १२ लाख ठगी गरेको र राममायाले माल्दिभ्स पठाईदिन्छु भन्दै ३ लाख रूपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सुवासलाई काठमाडौं पालबारी, महेन्द्रलाई काठमाडौं जोरपाटी र राममायालाई काठमाडौं कालिमाटीबाट पक्राउ गरको हो ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।