कञ्चनपुर र कैलालीबाट पाँच जना पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र १२, सोमबार १६:११
सांकेतिक तस्बिर

काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर र कैलाली जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो ।

प्रहरीले कञ्चनपुरको भिमदत्त नगरपालिका–१० सुकाशालस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ६० मिलिग्रामसहित ४ जनालाई आइतबार बेलुकी पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका–५ बस्ने २२ वर्षीय धिरज बिष्ट, कृष्णपुर नगरपालिका–३ बस्ने २१ वर्षीय दिनेश बिष्ट, सुक्लाफाँटा नगरपालिका–१० बस्ने २८ वर्षीय रोशन चन्द र भिमदत्त नगरपालिका–१ बस्ने २६ वर्षीय प्रदिप परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सु.प.प्र.०२००१ ह २२३० नम्बरको अटोलाई जाँच गर्न क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–२ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम २ सय २० मिलिग्रामसहित आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–५ बस्ने २७ वर्षीय करन चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।