मकवानपुरका युवक प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०८० चैत्र ९, शुक्रबार १७:२०

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ७ पेन्चे बजारस्थित सडकखण्डबाट बिहीबार साँझ एक युवकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको नियन्त्रणमा हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्वर ५ घर भई हाल मनहरी–७ बस्ने २२ वर्षीय बिवेक प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रजालाई ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक दीपक थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले ९ किलो ८२० ग्राम लागूऔषध अफिमसहित नियन्त्रणमा लिएकोप्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, राक्सिराङबाट पेन्चे बजारतर्फ आउँदै गरेको बा.प्र.०३–००५ प ३१०३ नं. प्लेट भएको १५० सि.सि.को पल्सर मोटरसाइकल र बा.प्र. ०३–००३ प ९६४७ न.प्लेट भएको २२० सीसीको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा सो परिमाणको अफिम बरामद भएपनि प्रजालाई नियन्त्रणमा लिइएको हो ।

सो क्रममा बा.प्र. ०३–००३ प ९६४७ न.को मोटरसाइकलमा सवार २ जना व्यक्तिहरु भागी फरार भएका छन् । उनीहरुको खोजीकार्य भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

प्रहरीको नियन्त्रणमा रहेको प्रजालाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट १० दिनको म्याद अनुमति लिई आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।