हत्या अभियोगमा फरार पुरुष २४ वर्षपछि पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र ९, शुक्रबार १६:१९

काठमाडौं । काठमाडौं महानगरपालिका–२१ स्थित लगनटोलमा २०५६ मा हत्या गरेर फरार रहेको एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामकाजी पोडे रहेका छन् ।

उनलाई कास्कीको लेखनाथ नगरपालिका–११ स्थित फुलबारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार, २०५६ जेठ २ मा रामकाजी पोडे समेतले लगनटोलमा कृष्ण पोडेको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

घरायसी विवादमा लगन बस्ने सविन्द्र पोडे, श्याम पोडे र रामकृष्ण पोडे समेतको समूहले बन्चरो प्रहार गरेर कृष्णको हत्या गरेका थिए ।

कृष्ण पाडेको हत्याको आरोपमा जिल्ला अदालत काठमाडौंले सो मुद्दामा श्याम पोडे र रामकृष्ण पोडेलाई जन्मकैद ठहर गरेको थियो । रामकाजीको हकमा मुद्दा मुलतवी राखिएको थियो ।

जिल्ला अदालतले २०५९ मा चैत ७ मा मुलतवी राखेको मुद्दामा रामकाजीबारे पुनः सुनुवाइ हुने जनाइएको छ ।