अवैध लागूऔषधसहित १० जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, कञ्चनपुर, कैलाली, मोरङ र झापा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले सुनसरीको ईटहरी उपमहानगरपालिका–१ पिपल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम २४० मिलिग्राम र नगद ८ हजार ५ सय रूपैयाँसहित २ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–२ बस्ने पवन ढकाल र उनकै भाइ प्रबिन ढकाल रहेका छन् । अस्थायी प्रहरी चौकी हलगडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका–६, बैशाखाबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ६७ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका–३ पर्सिया बस्ने २१ वर्षीय मनोज राना र कैलाली धनगढी उपमहानगरपालिका–७ मनिहरा बस्ने २७ वर्षीय राम औतार राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले से.७ प ६३२८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यता, कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ब्राउनसुगर ४ सय मिलिग्रामसहित कञ्चनपुर पुनर्वास नगरपालिका–८ बस्ने २३ वर्षीय सन्दिप खड्कालाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, मोरङको सुनवर्षी नगरपालिका–१ र २ को सिमाना गृदलियाबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम २ सय ८० मिलिग्रामसहित बिहीबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–१ बिशाल चोक बस्ने ३० वर्षीय युवराज लिम्बु रहेका छन् । प्रहरी चौकी अमरदहबाट खटिएको प्रहरीले अमरदहबाट पथरीतर्फ जाँदै गरेको को.३४ प ३७०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक लिम्बुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
उता, झापाको कन्काई नगरपालिका–९ बस्ने २२ वर्षीय पवन चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले बिहीबार पक्राउ गरेको छ । चौधरीलाई ४ सय १० मिलिग्रामसहित इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी, झापाको मेचिनगर नगरपालिका–६ मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन १२ ग्राम ८ सय मिलिग्रामसहित बिहीबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–५ बस्ने २५ वर्षीय खगेन्द्र तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सो परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, झापा कै दमक नगरपालिका–५ बाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४४ वर्षीय यादव राई र सोही नगरपालिका–८ बस्ने २६ वर्षीय मनोज वोहोरा रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा उक्त लागूऔषधसहित दुबै जना पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
