दुर्गा प्रसाईँका सुरक्षा गार्ड हतियार र गोलीसहित पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र ५, सोमबार १६:३४

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभिानका संयोजक दुर्गा प्रसाईँका निजी सुरक्षा गार्ड पक्राउ परेका छन् ।

प्रसाईँका सुरक्षा गार्ड दीपक खड्कालाई राम शाहपथस्थित सर्वोच्च अदालत नजिकैबाट हतियार र गोलीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस्तै, उनीसँगै प्रहरीले राजकुमार धिमाललाई पनि पक्राउ गरेको छ । खड्काको साथबाट जीएसजी ५ जर्मन सेमि अटोमेटेड हतियार बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।

प्रहरीले उक्त अटोमेटिक हतियारमा लाग्ने १०० थान गोली पनि बरामद गरेको छ । पक्राउ परेका दुबैमाथि आवश्यक अनुसन्धान गरिरहेको छ ।