३३ श्रमिक महिलालाई सम्मानित

तु खबर संवाददाता
२०८० फाल्गुन २६, शनिबार ०९:३४

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले विभिन्न पाँच क्षेत्रका ३३ जना श्रमिक महिलालाई सम्मान गरेको छ । उपमहानगरपालिकाले १ सय १४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।

उपमहानगरले १९ वटा वडाका एक–एक जना महिलालाई सम्मान गरेको हो । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा व्यवसायमा संलग्न भई प्रेरणादयी भूमिका निर्वाह गरेको भन्दै स्थापित उद्यमीहरु क्रमशः पार्वती राई, पुतलीमाया गोले, कमला थिन र रिमनी लामालाई सम्मान गरिएको हो ।

त्यस्तै, उपमहानरपालिकाले निर्माण तथा उद्योगमा आधारित जोखिमपूर्ण क्षेत्रमा आवद्ध सावित्री राई, सुनिता कार्की, पूजा कुमाल, सुष्मा श्रेष्ठ, शुशिला भ्लोन र अनिता लामिछानेलाई सम्मान गरेको हो ।

उपमहानगरपालिकाले संघर्षशिल तथा व्यवसायी एकल महिला विष्णुमाया थपलीया, परम्परागत लैंगिक भूमिकालाई चूनौती दिने श्रम तथा व्यवसायमा आवद्ध ३ जनालाई पनि सम्मान गरेको छ ।

यस्तै, उपमहानगरपालिकाले खुला हाजिरिजवाफ प्रतियोगिता तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको पनि आयोजना गरेको थियो ।

उपमहानगरपालिकाको कार्यालयमा आयोजित पाठेघर, स्तन क्यान्सर तथा प्रजनन्, फिस्टुला सम्बन्धी निशुल्क परिक्षण तथा शिविरमा १ सय ५० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । तीमध्ये ३ जनामा पाठेघरको मुखको क्यान्सर सम्बन्धी लक्षण देखिएको उपमहानगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब केशव तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार, आङ खस्ने समस्या भएको १ जनालाई रिङ्गकेशरी राखिएको छ । शिविरमा ३० जनाले स्तन जाँच गराएका थिए । तीमध्ये २ जनामा लम्ब र एक जनामा फिस्टुला देखिएको छ । शिविरमा १ सय ७ जनालाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

यस्तै, शुक्रबार नै आयोजित हाजिरी जवाफमा २० जना पुरस्कृृत भएका छन् ।

कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरीको अध्यक्षतामा भएको हो ।