राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौं । संघीय संसद् अन्तरगत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । यसअघि सूचना टाँसेर स्थगन भएको राष्ट्रिय सभाको बैठक आज बस्ने गरी बोलाइएको हो ।
बैठक १ः१७ बजे संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने कार्यसूची रहेको छ ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोक सेवा आयोगको ६४ औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराउने जनाइएको छ ।
यसअघि आजै प्रतिनिधि सभाको बैठक पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।
यस्तै, प्रतिनिधि सभा बैठकमा महिला तथा सामाजिक मामिला समिति सभापति किरण कुमार शाहले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।
