पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ
काठमाडौं । पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले मंगलबार एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड नगरपालिका ६ घर भई हाल काठमाडौं बालुवाटार बस्ने २६ वर्षीय गोबिन्द थापा रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, थापाले इन्द्रकुमार खवासलालई पोल्याण्ड पठाइदिन्छु भनी ३ लाख ७० हजार रुपैयाँ ठगी गरेका थिए ।
पक्राउ परेका थापालाई प्रहरीले आज सार्वजनिक गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग कार्यालय ताहाचाल पठाइएको छ ।
