अवैध लागूऔषधसहित सात जना पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन २१, सोमबार १५:५६
सांकेतिक तस्बिर

हेटौंडा । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट सात जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, कञ्चनपुर, कैलाली र चितवन जिल्लाको विभिन्न स्थानबाट लागूऔगषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले झापाको कमल गाउँपालिका–३ स्थित कृष्टिना होटलबाट अवैध लागूऔषध ब्राउनसुगर २० ग्रामसहित गौरीगंज गाउँपालिका–२ बस्ने ३६ वर्षीय अजय हेमरमलाई आइतबार दिउँसो पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले उक्त होटलमा बसिरहेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा हेमरमले गौरीगंज गाउँपालिका–२ बस्ने २६ वर्षीय सम टुडुको प्र.१–०१–००१ ह ९९१० नम्बरको अटोमा उक्त पदार्थ राखी ल्याएको र अन्य समयमा समेत अटोमा लागूऔषध ओसारपसारमा सहयोग गर्ने गरेको खुलेपछि टुडुलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, कञ्चनपुरको भिमदत्त नगरपालिका–१२ स्थित पुलबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम २९ मिलिग्रामसहित सोही नगरपालिका–६ ऐठपुर बस्ने २० वर्षीय शिरीस बोगटी समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र प्रहरी चौकी झुलुङगेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उता, कैलालीको भजनी नगरपालिका–३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका–६ बस्ने २१ वर्षीय अबिन चौधरी र २४ वर्षीय दिल बहादुर कठरीया रहेका छन् । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, प्रहरीले चितवनको भरतपुर महानगरपालिका–१० चौबिसकोठी चोकबाट अवैध लागूऔषध अफिम २ किलो र स्रोत नखुलेको नगद २ लाख १६ हजार ५ सय रूपैयाँसहित कालिकोट पचालझरना गाउँपालिका–५ बस्ने ४० वर्षीय केशव बमलाई आइतबार राति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।