विशेष समितिको बैठक: प्रदेशका सचिवहरुसँग छलफल गर्ने निर्णय

तु खबर संवाददाता
२०८० फाल्गुन २१, सोमबार १०:१९

मकवानपुर । बागमती प्रदेश सभाको बैठकबाट अनुमोदन गरिएको बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको बैठक सरकारका सचिवहरु र सरोकारवाला पक्षहरुसँग पूर्ण छलफल गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ काठमाडौंमा बसेको उक्त समितिको पहिलो बैठकले यही फागुन २७ गते हेटौंडामा प्रदेश सरकारको मुख्य सचिव, अर्थ सचिव, कानून सचिव र सरोकार पक्षहरुसँग पूर्ण छलफल गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट विनियोजित भएको सन्दर्भमा गत असारमा प्रदेश सरकार र प्रतिपक्ष दलहरुबीचमा भएको सहमतिको बुद्धाहरुमा के–कति कारणले हालसम्म कार्यान्वयन गर्न समस्या भएको भनि लिखित जवाफ मगाउने निर्णय गरेको सो समितिका संयोजक गोविन्द प्रसाद लम्सालले जानकारी दिए ।

यस्तै, उक्त बैठकले प्रदेश सभामा रहेका विभिन्न समितिका जेष्ठ सदस्यहरु, अर्थ विज्ञ तथा प्रकाशन विज्ञहरुसँग फागुन २३ गते काठमाडौंमा बैठक बसि छलफल गर्ने र सरकार, प्रतिपक्ष दलमा भएको भएको सहमतिको कार्यान्वयनमा कानूनी अर्थको विषयमा विचार–विमर्श गरिने निर्णय पनि गरिएको संयोजक लम्सालले बताए ।

प्रदेश सभाको फागुन १७ गते बसेको बैठकले प्रदेश सरकार र प्रतिपक्ष दलबीच भएको सहमतिलाई कार्यान्वयन गर्न गोविन्द प्रसाद लम्सालको संयोजकमा ११ सदस्यीय बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन गरिएको थियो ।

समितिको सदस्यहरुमा क्रमशः डा.दिनेशचन्द्र देवकोटा, इन्द्रप्रसाद गोतामे, उद्धव थापा, गिरबहादुर तामाङ, प्रभात तामाङ, बसन्तप्रसाद मानन्धर, रत्नप्रसाद ढकाल, रमा आले मगर, मधुसुदन पौडेल र शैलेन्द्रमान बज्राचार्य रहेका छन् ।