नवनिर्वाचित राष्ट्रिय सभाका १९ सदस्यको शपथ आज

तु खबर संवाददाता
२०८० फाल्गुन २१, सोमबार ०९:२३
file-photo

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यहरुले पद तथा गोपनियताको आज शपथ लिँदैछन् ।

पूर्व निर्धारित कार्यक्रम अनुसार गत माघ ११ गते निर्वाचित भएका १९ जना सदस्यहरुले आज एक कार्यक्रमबीच शपथ लिने भएको संघीय संसद सचिवालयले जनाएको छ ।

संसदका सहायक प्रवक्ता दशरथ धमलाले शपथ कार्यक्रम बिहान साढे ११ बजे संसद भवनको लहोत्से हलमा हुने जानकारी दिए ।

उनीहरुलाई उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छिन् ।

आइतबार मात्रै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको थियो भने नयाँलाई स्वागत गरिएको थियो ।

रिक्त २० मध्ये १९ जना निर्वाचनबाट चुनिएका छन् भने एक जना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छन् ।

आज रुकमिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र बलदेव बोहराले शपथ लिने भएका हुन् ।