विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८० फाल्गुन २०, आईतवार ०९:३५
file-photo

काठमाडौं । आज एकै पटक विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअनुसार आज बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठकमा भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका समस्या सम्बन्धमा छलफल हुने जनाइएको छ ।

त्यस्तै, बिहान ११ बजे नै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ । बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, बिहान ११ बजे नै बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्ने भएको छ । सो बैठकमा समितिको कामकारबाहीको समीक्षा हुनेछ ।

सोही समयमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बस्ने पनि बस्दैछ । बैठकमा फलामे छडको कच्चा पदार्थको रूपमा रहेको स्पञ्ज आइरन र विलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा भएका निर्णय कार्यान्वयन सम्बन्धमा थप छलफल हुनेछ ।

त्यस्तै, बिहान साढे ११ बजे नै बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने भएको छ । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफल हुनेछ ।

यसैगरी, आज दिउँसो ४ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा ६ वर्ष कार्यकाल पूरा गरी जाने सदस्यहरूको बिदाइ गर्ने कार्यक्रम रहेको छ ।