मानव बेचबिखन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
काठमाडौं । कुवेत पठाईदिने भन्दै श्रीलंका पुर्याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका–४ ठेगाना भएका ४७ वर्षीय मदुला मिया भन्ने मुर्तुजा मियालाई पक्राउ गरेको हो ।
उनलाई मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं नयाँबसपार्कबाट पक्राउ गरेको हो ।
मिया समेतको प्रतिवादीहरूले पीडितलाई कुवेतमा घरेलु काममा लगाईदिने प्रलोभन देखाई भिजिट भिषामा श्रीलंकाको कोलम्बो पुर्याई बन्धक बनाई राखेको घटनामा संलग्न रही वारदात पश्चात फरार रहेका मियालाई पक्राउ गरिएको हो ।
पीडितलाई कुवेतमा मासिक २० देखि २२ हजार नेपाली रूपैयाँ तलबमा घरेलु काममा लगाईदिने प्रलोभन देखाई भारतको नयाँदिल्ली पुर्याई त्यहाँबाट भिजिट भिषामा कोलम्बो पठाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
पीडितलाई बन्धक अवस्थामा नेपाल प्रहरीले विभिन्न संघसंस्थाको सहयोगमा उद्धार गरेको थियो ।
पक्राउ परेका मिया उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
