अवैध लागूऔषधसहित १४ जना पक्राउ
मकवानपुर । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, सिरहा, कञ्चनपुर, बाँके, झापा र काठमाडौं जिल्लाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर ६८० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–८ बस्ने ३९ वर्षीय सविन दाहाल र सोही उपमहानगरपालिका–१ बस्ने २६ वर्षीय विवेक गुप्ता रहेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले से.५ प २०९६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, कैलालीको कैलारी गाउँपालिका–३ शिबरत्नपुरस्थित जंगलबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम २८० मिलिग्रामसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–५ गोबरैला बस्ने ३० वर्षीय सिरन चौधरी र २६ वर्षीय देवान चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, सिरहाको सिरहा नगरपालिका–१७ काली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ६३ मिलिग्रामसहित प्रहरीले तीन जनालाई मंगलबार पक्राउ गरेको छ । प्रहरीले मिर्चैया नगरपालिका–११ सियापुर बस्ने २२ वर्षीय सुरेन्द्र कुमार महरा समेत ३ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले प्रदेश २–०१–००१ प ५९४६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यस्तै, कञ्चनपुरको भिमदत्त नगरपालिका–९ ब्रह्मदेब बजारबाट अवैध लागूऔषध खैरो हेरोइन ९ ग्राम १५ मिलिग्रामसहित भारत बरेली रसोला तालिब हुसेईन महल्ला बस्ने ३५ वर्षीय रहद अहमदलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागूऔषध ब्यूरो महेन्द्रनगर र ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, कञ्चनपुर, कृष्णपुर नगरपालिका–७ रेलडण्डी कलुवापुर बस्ने ३० वर्षीय नरेन्द्र चुनारालाई अवैध लागूऔषध चरेश २१ ग्राम ६३ मिलिग्राम र खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले चुनारले आफ्नै घरमा संचालन गरेको नरेन्द्र मदिरा बिक्री केन्द्रबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
उता, बाँकेको राप्तिसोनारी गाउँपालिका–८ गल्लिकटानबाट अवैध लागूऔषध ब्राउनसुगर ८ ग्राम ६ सय मिलिग्रामसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली घोडाघोडी नगरपालिका–५ बस्ने २७ वर्षीय रमेश बडुवाल र २८ वर्षीय गोपाल बम रहेका छन् । प्रहरी चौकी ढकेरीबाट खटिएको प्रहरीले लु.९४ प १२९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, बैजानाथ गाउँपालिका–१ राराबस्ति बस्ने २६ वर्षीय रामलाल भन्ने निकेश रावललाई अवैध लागूऔषध ब्राउनसुगर ५ सय मिलिग्रामसहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित सडकमा हिड्डुल गरिरहेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यता, काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ दुरसंचारबाट अवैध लागूऔषध खैरो हेरोइन १० ग्रामसहित मंगलबार बेलुका एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही नगरपालका–५ किसिपडी बस्ने बारा महागढीमाई नगरपालिका–४ घर भएका २४ वर्षीय दिलिप कुमार साहलाई पक्राउ गरेको हो । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, झापाको मेचिनगर नगरपालिका–६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्रामसहित सोही नगरपालिका–५ घैलाडुब्बा बस्ने २८ वर्षीय मनिष राईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.२७ प ३८७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक राईलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
