एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । मंगलबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको हो ।
बैठक आज बिहान १० बजेबाट सुरु हुनेछ । बैठकमा प्रस्तुत चार वटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुनेछ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले छलफलका लागि नौ वटा समूह बनाइएको जानकारी दिए । आज बिहान १० बजेबाट समूहगत छलफल सुरु हुने उनले बताए ।
विभाग प्रमुख गौतमका अनुसार, बैठकमा पार्टीको समग्र साङ्गठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय र समसामयिक प्रस्ताव छन् ।
बैठक यही फागुन १० गतेसम्म संचालन हुनेछ ।
