बोक्सी आरोपमा मलमूत्र खुवाउने पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन ४, शुक्रबार १५:४३

विराटनगर । बोक्सीको आरोपमा मलमूत्र खुवाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको बूढीगंगा गाउँपालिका–७ की एक महिलालाई यातना दिएर मलमूत्र खुवाएको आरोपमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी रहेकी छन् । उनी गाउँकी धामी हुन् ।

प्रहरीका अनुसार, उनले ५५ वर्षीया महिलालाई यातना दिँदै बोक्सी आरोपमा मलमूत्र खुवाएका थिइन् ।

मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको उजुरी परेपछि माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

बिहीबार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । हराएको दियो जोखाना हेर्दा पीडितले चोरेको भन्दै माझीले कुटपिट गरिन् ।

पूजामा बोक्सी प्रवेश गरेको भन्दै लछारपछार पारेर मलमूत्र खुवाउँदै अमानवीय व्यवहार पनि गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ ।

पक्राउ परेकी माझीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने तयारी गरिइएको छ ।