६ जना मृत अवस्थामा फेला
काठमाडौं । विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार, देशको काठमाडौं, सुनसरी, नवलपरासी, इलाम, मोरङ र सर्लाही जिल्लाको छुट्टाछुट्टै स्थानबाट उनीहरु मृत अवस्थामा भेटिएका हुन् ।
प्रहरीका अनुसार, काठमाडौको गोकर्णेश्वर नगरपालिका–५, नारायाणटार डेरा गरी बस्ने रसुवा उत्तरगया नगरपालिका–४ घर भएकी २७ वर्षीया सम्झना न्यौपाने मृत भेटिएकी छन् । न्यौपाने आफ्नै कोठामा बिहीबार मृत भेटिएकी हुन् ।
यस्तै, सुनसरीको ईटहरी उपमहानगरपालिका–४ बुढिखोला घाटमा काम गरी बस्ने दुहवी घर बताउने ५५ वर्षीय प्रदिप चौधरी नाम गरेको व्यक्ति बिहीबार सोही ठाउँमा मृत भेटिएका छन् ।
नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका–११ तल्लो खयरसालस्थित काम गरी बस्ने पाल्पा निस्दी गाउँपालिका–४ घर भएका ३७ वर्षीय टेक बहादुर सोमै मृत भेटिएका छन् । उनी सोही नगरपालिका–११ मजुवास्थित अरुणखोलामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
उता, ईलामको माईजोगमाई गाउँपालिका–४ डाँडागाउँ बस्ने ३० वर्षीय भोजराज खत्री मृत अवस्थामा फेला परेका छन् । उनी सोही नगरपालिका–४ नौलेगाउँस्थित गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
मोरङको मिक्लाजुङ गाउँपालिका–२ बस्ने ६९ वर्षीय पदम राई सोही गाउँपालिका–२ कुवा पानीस्थित भिरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, सर्लाहीको चक्रघटा गाउँपालिका–८, औरहीस्थित नहरको भुर्पी पुल नजिक मसालाको रूख मुनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा भेटिएका छन् ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
