फोहोर टिप्ने बहनामा करोडौंको चोरी, पाँच जना पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन ३, बिहीबार १७:११
सांकेतिक तस्बिर

काठमाडौं । फोहोर टिप्ने बहनामा काठमाडौंको विभिन्न स्थानबाट करिब एक करोड रुपैयाँ बराबरको धनमाल चोरी गरेको आरोपमा प्रहरीले पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको समस्तीपुर घर भएका लक्का भन्ने विकास पोदार, सोही स्थान घर भएका ४० वर्षीय सञ्जय पोदार, ५० वर्षीया मञ्जुदेवी पोदार, बेगुसरा घर भएका २८ वर्षीय जितेन्द्र पोदार र वैशाली घर भएका २७ वर्षीय भाइलाल पोदार रहेका छन् ।

पक्रा परेका उनीहरू काठमाडौंको तिलगंगा बस्दै आएका थिए । उनीहरुलाई फागुन २ गते बुधबार जडीबुडीबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, गत माघ २८ गते गोकर्णेश्वर नगरपालिका–४ मकलबारीस्थित दिलमाया आले मगरको घरमा चोरी भएको थियो ।

दिउँसोको समयमा घरमा कोही नभएको मौका पारी घरको ढोका फुटाएर भित्र प्रवेश गरी सुनका विभिन्न गरगहना र नगद गरी ६५ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो ।

अनुसन्धान गर्दै गर्दा यो समूहले यसअघि पनि विभिन्न स्थानमा चोरी गर्ने गरेको खुलेको थियो । उनीहरूले यसअघि माघ २४ गते काठमाडौंकै दिनेश घिमिरेको घरबाट सुन र नगद गरी २५ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।

त्यस्तै, माघ २८ गते गोकणेश्वरमा गीता राईको घरबाट ४ लाख १० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको पनि खुलेको छ । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।