चितुवाको आक्रमणबाट मकवानपुरका दुई जना घाइते
मकवानपुर । मकवानपुरमा जंगली जनावर चितुवाको आक्रमणबाट बुधबार दुई जना घाइते भएका छन् ।
जिल्लाको थाहा नगरपालिका वडा नम्वर २ अंगारेटोलस्थित जंगली जनावर चितुवाको आक्रमणबाट दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
घाइते हुनेहरुमा स्थानीय ६६ वर्षीय हेमन्त प्रसाद ढाकाल र उनको श्रीमती ६० वर्षीया साबित्री ढकाल रहेका छन् । चितुवाको आक्रमणबाट हेमन्तको शरिरको विभिन्न भाग चोट लागेको छ भने उनको श्रीमती साबित्रीको दाहिने हातको कुहिनामा चोट लागेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
उनीहरु दुबै जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा लगिएको उनको भनाई छ ।
उनका अनुसार, उनीहरुलाई आक्रमण गर्ने चितुवा उपर स्थानीयहरुले प्रतिकार गर्ने क्रममा चितुवा भाग्दै जाँदा नजिक रहेको पुड्खेल खोलाको ग्याबिन वालमा ठोक्किन गई उक्त चितुवाको मृत्यु भएको छ ।
ती चितुवाको लास घटनास्थलमा नै रहेकोले सव डिभिजन वन कार्यालय पालुङ मकवानपुरबाट बन कर्मचारीहरु समेत खटी गई कानुनी प्रकृया अगाडि बढाइएको छ ।
