आमा बुवा र दाईको स्मृतिमा प्रतिक्षालय निर्माण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१४ का रामबहादुर रुम्बाले आफ्नो आमा , बुवा र दाईको स्मृतिमा प्रतिक्षालय निर्माण गरेका छन् ।
उनले आफ्नो आमा केशरी रुम्बा, बुवा सुनलाल रुम्बा र दाई जितबहादुर रुम्बाको स्मृतिमा हेटौंडा–१४ स्थित कालोपानी चोकमा प्रतिक्षालय निर्माण गरेका हुन् ।
करिब एक लाख ५० हजार लागतमा निर्माण गरिएको उक्त प्रतिक्षालयको शनिवार हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । सो क्रममा बोल्दै नगर प्रमुख लामाले यस्ता सामाजिक कार्यले हेटौंडा उपमहानरपालिकाको विकासमा सहयोग पुग्ने बताइन् ।
उनले आफ्नो परिवारको सम्झनामा प्रतिक्षालय निर्माण गरिएकोमा रुम्बा परिवालाई धन्यवाद दिँदै यसैगरी सामाजिक कार्यमा जोड्न आग्रह गरिन् । १४ नम्वर वडालाई हेटौंडा बजारसँग जोडेर बजारको अनुभुति हुने गरि काम गर्ने तयारी उपमहानगरपालिकाको रहेको बताइन् । आफ्नो कार्यकाल भरिमा सबै पुर्वाधारहरु निर्माण गर्ने लक्ष्य रहेको समेत उनको भनाई छ ।
निर्माण भएको प्रतिक्षालय सक्रिय टोल कालोपानी , कालोपानी हुँदै उत्तरपानी र कालोपानी हुँदै बाँडाचौर जाने बाटोको मध्य भागमा पर्दछ । जस्तले गर्दा तीनतिरबाट आएका यात्रुहरुलाई थकान मार्न प्रतिक्षालयमा सहज हुने जनाइएको छ ।

