माओवादी केन्द्रको स्थायी समिति बैठक आजबाट
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजबाट सुरु हुँदैछ । बैठक आज दिउँसो ३ बजेबाट बस्ने पार्टीका सचिव गणेश साहले जानकारी दिए ।
भोलिसम्म बस्ने स्थायी समिति बैठकमा फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीबारे छलफल हुने सचिव साहले बताए ।
बैठकमा उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि छलफल हुनेछ ।
अधिवेशनको तयारीको विषयमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विधानलाई चुस्त दुरुस्त बनाउने लगायत प्राविधिक विषयमा छलफल भएको साहले बताए ।
