जसपाद्वारा महाधिवेशनको कार्यक्रम सार्वजनिक

तु खबर संवाददाता
२०८० माघ २५, बिहीबार १५:११

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको महाधिवेशनको कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीले २०८१ जेठ २८, २९ र ३० गते धनुषामा हुने महाधिवेशनका लागि कार्यक्रम सार्वजनिक गरेको हो ।

सार्वजनिक कार्यक्रम अनुसार, महाधिवेशन प्रतिनिधिहरूको निर्वाचन तथा चयनको कार्यक्रम २०८० चैत्र २० गतेदेखि २०८१ वैशाख २० गतेसम्म गरिसक्नु पर्नेछ ।

त्यसैगरी, निर्वाचित महाधिवेशन प्रतिनिधिहरूको नामावली केन्द्रीय कार्यालयमा २०८१ वैशाख ३० गतेभित्र पठाइसक्नु पर्ने भनिएको छ ।

जसपाको प्रचार–प्रसार तथा प्रकाशन विभागले सार्वजनिक गरेको कार्यक्रमअनुसार फागुन २५ गतेसम्म संगठित पार्टी सदस्यता वितरण तथा नवीकरण गरिसक्नुपर्ने भनिएको छ ।

२०८० मङ्सिर ३० गतेभित्र पार्टी सदस्यता प्राप्त गरिसकेका वा पार्टीमा आबद्ध भएका र पार्टी संगठनमा कार्यरत रहेका पार्टी सदस्यहरूलाई मात्र संगठित पार्टी सदस्यता प्रदान गर्ने जसपाले जनाएको छ ।

चैत्र १० गतेभित्र संसदीय निर्वाचन क्षेत्र अनुसार संगठित पार्टी सदस्यहरूको अभिलेख तयार गरी जिल्ला समितिले राष्ट्रिय समिति, प्रदेश समिति हुँदै केन्द्रीय कार्यालयमा पठाउनुपर्ने कार्यक्रममा उल्लेख गरिएको छ ।

चैत्र १० गतेभित्र संगठित पार्टी सदस्यतासम्बन्धी दाबी विरोध अथवा उजुरी दिन सकिने कार्यक्रममा उल्लेख छ । राष्ट्रिय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूबाट केन्द्रीय कार्यालयले निर्वाचन समिति गठन गर्ने उल्लेख छ ।