साइबर अपराधका १३ हजार ३३० उजुरी

तु खबर संवाददाता
२०८० माघ २५, बिहीबार १०:२०

काठमाडौं । चालु आर्थक वर्षको ७ महिनाको अवधिमा साइबर अपराध सम्बन्धि १३ हजार ३३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । चालु आवको गत साउनदेखि माघ २३ गतेसम्म उक्त संख्यामा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।

तीमध्ये सामाजिक सञ्जाल सम्बन्धि ११ हजार ४२५ वटा र सूचना प्रविधिसँग सम्बन्धित वित्तिय अपराध १ हजार ९०५ वटा रहेका छन् । साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जना साइबर ब्यूरोबाट पक्राउ गरिएको छ ।

विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालहरूमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाईल पेज खोलेर बेइज्जत गर्ने तथा दुःख हैरानी दिने, सरकारी तथा अन्य संघ संस्थाहरूको वेवसाइट ह्याक गर्ने र अनलाइन ठगी गर्ने जस्ता प्रवृत्ति हाल साइबर अपराधमा देखिएको पाइएको छ ।

सो अवधिमा दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक/म्यासेन्जरको दुरूपयोगका ९ हजार ३५० वटा, भाइबरका १६ वटा, इमोका ६ वटा, युट्यूवका ३९ वटा, ट्वीटरका ६ वटा, इन्स्ट्राग्रामका ४ सय ३२ वटा, वेभसाइट ह्याकिङका ६ वटा, टिकटकका ६ सय ६७ वटा, इमेलका ८० वटा, इसेवाका १ सय ९० वटा र अन्यतर्फ १ सय १८ वटा रहेका छन् ।

यसैगरी सूचना प्रविधिसँग सम्बन्धित वित्तिय अपराधतर्फ सामाजिक सञ्जाल ह्याकका ४ सय ३ वटा, उपहार/पैसा पठाएको सम्बन्धि २ सय ६४ वटा, लट्री परेको प्रलोभन देखाई ठगी गरेका ३३ वटा, वैदेशिक रोजगारको प्रलोभनका ३८ वटा, अनलाइन जागिर/कोठा खोजी दिनेतर्फ ३५ वटा, बैंक तथा वालेट अफिसबाट बोलेको/ एकाउन्ट ह्याकका १ सय ५२ वटा, मास्टर कार्ड/मनी एक्सचेन्ज समेतका ६१ वटा, भिडियो सेयरिङ र ब्ल्याकमेलिङका ३५ वटा, क्रिप्टोसँग सम्बन्धित ९५ वटा, अनलाइन सपिङका ४ सय ६० वटा, सामाजिक सञ्जाल फेक आइडि ६७ वटा र अन्यतर्फ २ सय ६२ वटा रहेका छन् ।