बुद्धशान्ति हरित पार्कमा हुने साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा
मकवानपुर । मकवापुरको मनहरी–७ मा रहेको बुद्धशान्ति हरित पार्क परिसरमा हुने सोनाम ल्होछार मेला तथा विशेष साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरण पुगेको छ ।
मंगलबार मनहरी–७ स्थित कार्यक्रम स्थल बुद्ध शान्ति हरित पार्क परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी यही माघ २७ गते हुने २८६० (डुक ल्हो) सोनाम ल्होछार मेला तथा विशेष साँस्कृतिक कार्यक्रमको तयारी बारे जानकारी गराएको हो ।
कार्यक्रमको उद्घाटन बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले गर्ने कार्यसूची रहेको कार्यक्रम संयोजक सुरेश मोक्तानले जानकारी दिए ।
सो अवसरमा मनहरी गाउँपालिका वडा नं. ७ भित्र रहेको सबै समुदायको ८० वर्ष पुगेका ५२ जना जेष्ठ नागरिकहरुलाई नगदसहित सम्मान गर्ने कार्यक्रम पनि रहेको उनले बताए ।
कार्यक्रममा तामाङ संस्कार सँस्कृति सम्बन्धि बिभिन्न स्टल रहनुका साथै स्थानीय स्तरमा उत्पादन हुने दैनिक उपभोग्य वस्तुहरुको स्टलहरु पनि रहनेछ ।
कार्यक्रमलाई सभ्य र भव्य बनाउन उक्त दिन मनहरी ७ र ८ मा रहेको गुम्बा परिसरबाट बाजागाजा, तामाङ भेषभुषासहित शोभा यात्रा पनि निकालिनेछ । शोभा यात्रामा विद्यालय, विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधि, विभिन्न धार्मिक व्यक्तित्वहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा चर्चित गायक देवलाल मोक्तान, रविन कुमार चेपाङ, सुन्दर लामा, बालिका तामाङ प्रिति बहादुर ब्लोन, माया तामाङ, दीपक मुक्तान, सुशिल मोक्तान लगायतका कलाकारहरुको प्रस्तुती रहनेछ ।
