परराष्ट्रमन्त्री साउद आज अस्ट्रेलिया भ्रमणमा जाँदै

तु खबर संवाददाता
२०८० माघ २४, बुधबार ०८:४५

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अस्ट्रेलियामा जाँदैछन् । अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा संयुक्त रुपमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

मन्त्री साउद श्रीमती ज्योत्स्ना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारीहरूसहित त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यही माघ २७ गते ‘स्थिर र दिगो हिन्द महासागरतर्फ’ विषयमा हुन लागेको सम्मेलनलाई मन्त्री साउदले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पर्थमा रहँदा उनले अस्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

साथै उनले सम्मेलनमा सहभागी मित्र राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग भेटघाट गर्ने कार्यसूची रहेको छ ।

परराष्ट्र मन्त्रालयका पर्थबाट मन्त्री साउद न्युजिल्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँग द्विपक्षीय बैठकका लागि आगामी फागुन २ गते वेलिङ्टन जानेछन् ।

उक्त बैठकअघि दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूबिच दोस्रो परामर्श बैठक हुनेछ । मन्त्री साउद फागुन ३ गते स्वदेश फर्कने कार्यसूची रहेको छ ।