हेटौंडामा ट्राफिक सचेतना कार्यक्रमको आयोजना
मकवानपुर । मकवानपुरको हेटौंडा–६ चौघडामा शनिबार ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस अभियान’ अन्तर्गत तरूण दल हेटौंडा–६ नम्बर वडा इकाईले ‘सवारी दुर्घटना न्यूनीकरणका निम्ति सचेतना कार्यक्रम’ को आयोजना गरेको हो ।
प्रहरी चौकी चौघडासंगको सहकार्यमा आयोजित सो कार्यक्रममा नेपाली कांग्रेस र तरूण दल सम्बद्ध नेता कार्यकर्ताहरू र चौघडा चौकीका सुरक्षाकर्मीले कान्तिलोकपथमा संचालन हुने सवारीका चालक र पैदलयात्रीलाई सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न, मादक पदार्थ र लागूऔषध सेवन गरी सवारी नचलाउन, बजार क्षेत्रमा तिब्र गतिमा सवारी नचलाउनसुझाव दिएका थिए ।
उनीहरूले जथाभावी पार्किङ नगर्न, सडक पार गर्न जेब्रा क्रसको प्रयोग गर्न, पैदल यात्रीहरूलाई सडक पेटीबाट मात्रै हिड्न, सधैं ट्राफिक नियमको पालना गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा हेटौंडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, नेपाली कांग्रेस जिल्ला सदस्य एवम् पूर्व वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईं, पार्टी वडा सभापति रामहरी तिमल्सिना, उपसभापति केशव धिताल, सचिव राजकुमार फुँयाल र कृष्णप्रसाद दुलाल, हेटौंडा–६ का वडा सदस्य विजय पौडेल, पूर्व वडा सदस्य एवं तरूण दल जिल्ला सदस्य राजकुमार बास्तोला, तरूण दल ६ नम्बर वडा अध्यक्ष कमल कोइराला, उपाध्यक्ष ईश्वर राना लगायत पार्टी र तरूण दलका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
