नेता बानियाँद्वारा मनहरी महोत्सवको उद्घाटन
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले पाँचौ मनहरी महोत्सवको उद्घाटन गरेका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीको आयोजनामा मनहरी खोला किनारमा भएको महोत्सवको मंगलबार एक कार्यक्रमबीच नेता बानियाँले उद्घाटन गरेका हुन् ।
सो क्रममा नेता बानियाँले महोत्सवले स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्नुका साथै पर्यटन, संस्कृति र भेषभुषाको परिचय र प्रवद्र्धनमा सहयोगी बन्नुपर्नेमा जोड दिए ।
मकवानपुरको क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित उनले मनहरी बजारमा आकाशे पुल निर्माण तथा मनहरी बजार संरक्षणको लागि मनहरी खोलामा तटबन्ध निर्माणका लागि बजेट विनियोजन गरिनु आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
यस्तै, कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल, मकवानपुर उद्योग वाणिज्य संघ हेटौंडाका अध्यक्ष कृष्ण कुमार गुप्ता, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, राक्सिराङ गाउँपालिकका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, मनहरी उपाध्यक्ष सीता पुलामी रेखा, राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस मनहरी सभापति प्रकाश बर्तौला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रम अघि मनहरी गाउँपालिका ८ नं वडा कार्यालयबाट विभिन्न संघसंस्था, धार्मिक र जातीय प्रतिष्ठानहरु, शैक्षिक प्रतिष्ठान लगायतले आफ्नो पहिचानसहितको झाँकी प्रदर्शन गर्दै शोभायात्रा निकालेका थिए । ८ नं वडा कार्यालयबाट सुरु भएको शोभायात्रा मनहरी बजार हुँदै रिभर साइडको बाटो भएर महोत्सवस्थल पुगेको थियो ।
आगामी माघ २८ गतेसम्म संचालन हुने उक्त महोत्सवमा १५० वटा स्टल रहनेछ । स्थानीय कृषि उत्पादनहरु च्याउ, केराका परिकार, स्थानीय गहत, मास, मस्याङको बिक्री बितरण र प्रदर्शनी गरिएको छ । साथै विभिन्न जातजाति र कृषि उपज प्रदर्शनीका लागि निःशुल्क स्ट्लको व्यवस्था गरिएको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने र स्थानीय स्तरमा लोकदोहोरी प्रतियोगिता, नृत्य लगायतका क्रियाकलापहरु दैनिक रुपमा संचालन हुने आयोजकले जनाएको छ ।
उद्घाटन कार्यक्रम मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र संयोजक गणेशमान मानन्धरको अध्यक्षतामा भएको हो ।
