हेटौंडामा तामाङ साँस्कृतिक महोत्सव हुँदै

तु खबर संवाददाता
२०८० माघ १४, आईतवार ०८:२२

मकवानपुर । मकवानपुरको हेटौंडामा तामाङ साँस्कृतिक महोत्सव हुने भएको छ । ल्होछारको अवसरमा यही माघ २७ गते उक्त साँस्कृतिक महोत्सवको आयोजना हुने भएको हो ।

नेपाल तामाङ घेदुङ, जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा मकवानपुर तामाङ कलाकार संघको समन्वय र तामाङ पत्रकार संघ मकवानपुरको सञ्चार समन्वयमा उक्त महोत्सव हुने भएको शनिबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

कार्यक्रममा तामाङ समुदायको साँस्कृतिक पर्वको रुपमा मनाउँदै आएको सोनाम ल्होछारमा तामाङ भेषभुषा झल्काउने पोसाक र परिकारहरुको स्टल राखी प्रदर्शन गर्ने घेदुङका सविच किरणमान बलले जानकारी दिए ।

महोत्सवमा लामा, बोम्बो, ताम्बाडम्फुरेसहितको र्याली तथा झाकी प्रद्धर्शन, शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम गर्नुका साथै चर्चित कलाकारहरुको प्रस्तुति रहने नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष कालु घलानले बताए।