हेटौंडामा हुने राष्ट्रिय सभा निर्वाचनको आवश्यक तयारी पूरा
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा हुने आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको आवश्यक तयारी पूरा भएको छ ।
राष्ट्रिय सभा सदस्य अन्तरगत बागमती प्रदेशतर्फ खाली रहेको ४ सिटका लागि भोलि माघ ११ गते हुने निर्वाचनको आवश्यक प्रकृया पूरा भएको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौंडाका निमित्त प्रमुख तारा प्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार, निर्वाचन हेटौंडा–४, स्थित भुटनदेवी माविको प्राविधिक भवनमा हुनेछ । मतदान केन्द्रमा अधिकृतसहित १०/१० जना गरी २० जना कर्मचारी खटाइनेछ ।
साथै निर्वाचनमा मतदाता रहने बागमती प्रदेश सभा सदस्य र प्रदेशभित्रका स्थानीय तहका नगर प्रमुख/उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको उनको भनाई छ ।
मतदान केन्द्र अनुसार मतपत्रको रङ पनि फरक/फरक रहनेछ ।
निर्वाचनको लागि नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको चार/चार, राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन, नेपाली कांग्रेसको दुई, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एक/एक जना गरी १५ जनाले उम्मेदवारी दिएका छन् ।
मतदान विहान ९ बजेबाट सुरु भई दिउँसो ३ बजेसम्म संचालन हुने आचार्यले बताए ।
