आजबाट भिजिट भिसामा विदेश जानेका लागि नयाँ नियम लागू

तु खबर संवाददाता
२०८० माघ १०, बुधबार ०९:००

काठमाडौं । भिजिट भिसामा विदेश जानेका लागि नयाँ नियम आजबाट लागू भएको छ ।

भिजिट भिसामा यात्रा गर्दा सहजीकरणको लागि यसअघि जारी भएको निर्णय खारेज गर्ने गर्दै अध्यागमन विभागले आजबाट लागू हुने गरी नयाँ व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार, यात्रा अनुमति पाउन कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने र सम्बन्धित देशको प्रवेशाज्ञा वा अनअराइभल प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने व्यवस्था गरिएको छ ।

यस्तै, दुईतर्फी हवाई टिकट हुनुपर्ने, भ्रमण अवधिभर होटेल बुकिङ गरेको प्रमाण वा होटेल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र हुनुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी, भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेबिटरक्रेडिट कार्ड) पनि हुनुपर्नेछ ।

साथै संयुक्त अरब ईमिरेटस्, बहराईन, कुवेत, कतार, ओमन र साउदी अरेवियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वःघोषणा गर्नुपर्ने र स्वःघोषणामा संलग्न विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमा रहनेछ ।