स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

तु खबर संवाददाता
२०८० माघ ९, मंगलवार १६:२६

मकवानपुर । सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

२३ औँ सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा गणका सशस्त्र प्रहरी लगायत संचारकर्मीहरु २२ जनाले रक्तदान गरेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरले सो दिवसको अवसरमा गत माघ ४ गते अमर सशस्त्र प्रहरी हवल्दार माधव प्रसाद सापकोटाको सम्झनामा पाथिभरा मन्दिर परिसरमा चौतारा निर्माण तथा उद्घाटन, भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

यस्तै, माघ ५ र ६ गते ऐतिहासिक स्थलहरु पाटी–पौवा, मन्दिर, पार्क, बाटोलगायत धार्मिकस्थलहरुको सरसफाई, ७ गते हेटौंडा उपमहानगरपालिका भित्र रहेको नवज्योति माविमा भूकम्पको समयमा अपनाउनुपर्ने सतर्कता सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुका साथै १४ नम्बर गण मद्दती सेवा गुल्म बीच भलिबल खेल भएको थियो ।

यसैगरी, माघ ८ गते वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वार्टरका गणपति अनिल कार्कीले जानकारी दिए ।

कार्यक्रमको अवसरमा अमर सशस्त्र प्रहरी हवल्दार माधव प्रसाद सापकोटाको आमाबुवालाई हिटर, फाइवर सिरक प्रदान गरिएको थियो ।

सो क्रममा गणमा रहेर एक वर्षको कार्यको मुल्याङ्कन गर्दै ६ जना प्रहरीलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा क्रमशः सशस्त्र प्रहरी हवल्दार नवराज सुवेदी, सशस्त्र प्रहरी सहायक हवल्दार कमल थापा, सशस्त्र प्रहरी जवान छलिमाया भोलन, सशस्त्र प्रहरी जवान राजेन्द्र कुमार राना, सशस्त्र प्रहरी जवान बसन्त प्रसाद भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार यसोदा केसी रहेका छन् ।

कार्यक्रममा भलिबल खेलको विजेता टिमलाई पुरस्कार वितरण गरिएको थियो ।