उर्लाबारीको आगलागी घटना : मृतकको संख्या तीन पुग्यो

तु खबर संवाददाता
२०८० मंसिर ७, बिहीबार १६:५३
file photo

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागीमा परेर हालसम्म तीन जनाको मृत्यु भएको छ ।

गत कात्तिक २६ गते स्थानीय स्नेहा सुनचाँदी पसलमा भएको आगलागी नियन्त्रणका क्रममा सिलिण्डर विष्फोट हुँदा घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार, स्थानीय दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको सुनचाँदी पसलमा आगलागी हुँदा चार जना प्रहरीसहित २८ जना घाइते भएका थिए ।

मृत्यु हुनेहरुमा उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहाल (दीपक), ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डित रहेका छन् । तीमध्ये तपनको मंगलबार, दीपकको बुधबार र कुमारको बिहीबार मत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीका अन्य घाइतेहरुलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुर वर्न अस्पताल लगिएको थियो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।