प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब उपलब्ध गराउने

तु खबर संवाददाता
२०८० कार्तिक २३, बिहीबार १५:४५
file-photo

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलव भूकम्प पीडितलाई उपलब्ध गराउने भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलव भूकम्प प्रभावितहरुलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् रहेकी सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै, बैठकले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने, नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणमार्फत कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन अघि बढाउने, मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरव आयोजनाको रुपमा अघि बढाउन व्यवस्था मिलाउने निर्णय गरेको छ ।

यसैगरी, बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने, पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी शनिल नेपाललाई राजदूत नियुक्त गर्ने, मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले मन्त्रिपरिषद् विधेयक समितिकबाट पेश भएको राष्ट्रिय व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान (गठन तथा सञ्चालन) आदेश, २०८० परिमार्जनसहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८० स्वीकृत प्रदान गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।